जब प्राय आम नेपालीमा के ठिक र के बेठिक छुट्टाउने विवेक जाग्छ र उहाहरुले त्यसलाई व्यवहारमै उतार्न थाल्नुहुन्छ तब नेपालीहरु विवेकशील बन्न थाल्छन्। यसका लागि नेपालीहरुले अाफु भित्र कम्तिमा पनि यी केहि मान्यताहरु बिकास गर्नु जरुरी देखिन्छ।
क) निष्ठा: व्यक्तिगत स्वार्थलाई मात्र प्रोत्साहन गर्ने अनि सामुहिक हित र सेवालाई तिरस्कार मात्र होइन निमोठ्नै खोज्ने अाजको नेपाली समाजलाई तुरुन्तै रुपान्तरण गर्नु जरुरी छ। यसो गर्न देशमा नागरिकहरु निष्ठावान बन्नु अपरिहार्य छ। कुनै पनि निष्ठावान नागरिक आफ्नो काम-कार्यप्रति पनि पूर्ण इमान्दार रहन्छ र नैतिकतामा अडिग रहि सत्यको पक्षमा निरन्तर पहल गरि रहन्छ। निष्ठावान नागरिक नै भ्रष्ट समाज सफा गर्ने माध्यम हुन्।
ख) पारदर्शिता: भ्रष्टाचारले नेपाली समाजमा नेतृत्व देखि अाम नागरिक सम्म क्यान्सर जसरी फैलिएको अवस्था छ। यस्तो सामाजिक क्यान्सर बिरुद्ध सबैभन्दा बलियो अस्त्र भनेकै हर एकमा पारदर्शिताको संस्कार स्थापित गर्नु पर्छ। अाफु पनि पारदर्शी हुने र अरुबाट पनि यहि अपेक्षा गर्ने सु-संस्कार नागरिकहरुमा बिकास गराउन सके समाजमा भ्रष्टाचारले जरो गाड्न गाह्रो हुन्छ। साथै भ्रष्टाचारकै कारक तत्वहरु टाढै बाट छर्लङ्ग देखिन थाल्छ। विवेकशील नागरिकहरु अाफ्ना कार्यहरुमा पारदर्शी रहन्छन्।
ग) उत्कृष्टता: अाफु पनि उत्कृष्ट बन्न कम्मर कस्ने अनि अरुको उत्कृष्टतालाई पनि उचित कदर गर्ने नागरिकले नै नेपालमा अात्मसम्मान, सहिष्णुता र समृद्धि भित्र्याउछँ। अहिले हरेक नेपाली भित्र नङ्ग्रो गाडेको नातावाद, कृपावाद, जातिय अहंकारवादका कुसंस्कारलाई उखेल्न “कर्म”लाई संस्थागत गराउनु जरुरी छ जसले गर्दा नेपाली समाज उत्कृष्टता, नविनता र श्रृजनशीलताको भरमा अडिग रहन्छ न कि वंश, नाता वा कृपावादमा।
घ) साहस: साहस बिना जति बुद्धिजीवी व्यक्तिले पनि अाफ्नो ज्ञानको सदुपयोग गर्न अाँट्दैन। अहिले नेपालमा यति धेरै अन्याय र अत्याचार देख्दा र खेप्दा पनि हामी प्राय चुपै छौँ। भएका विवेक पनि प्रयोग गर्ने साहस नहुदाँ पनि समाजमा भरिपूर्ण व्यक्तिगत रुपमा उत्कृष्ट नेपालीहरु सामुहिक रुपमा सफल हुन सकेका छैनन्। सत्य स्थापित गर्न साहस नगर्नेहरु विवेकशील हुन् सक्दैनन् ।
ङ) समानुभूति: नेपालमा विविध उमेर, समुदाय, वर्ग, पेशा, लिङ्ग, भूगोल वा सोचका मिश्रणका भरमा नेपालीहरुले विविध पहिचान बनाएका छन्। यस्तो विविध सोच, विचार र धारणाले भरिएको नेपाली समाजमा एक-अर्काका सोच, विचार र व्यथालाई “समान” अनुभूति गर्न सक्ने समावेशी संस्कार हामीले बिकास गरे मात्र यो देश हाम्रै कालमा शान्त अनि समृद्ध देश बन्न सक्दछ। विविधताले भरिएको नेपालमा एक-अर्का प्रति समानुभूति बोक्न सक्ने ‘विवेकशील’ नागरिकले नै समाजलाई एक जुट राखी राख्न सक्छ।
च) विनम्रता: मै मात्र सक्छु, मैले मात्र जानेको छु, मेरै गोरुको बार्है टक्का जस्तो अहंले ग्रस्त नेपाली समाजलाई तह लगाउन यहाँ विनम्र नागरिक अगुवाहरुको अत्यन्त खाँचो छ। अाफु बारे कमै सोची अरुको बारेमा बढि सोच्ने, अाफु एक्लैले मात्र सकिन्न, अरु पनि चाहिन्छ भन्ने बिनम्रता जब अाम नेपाली भित्र ल्याउन सके मात्र अहिलेको स्वार्थीपनाले जरो गाडेको समाज क्रमश परोपकारी र राष्ट्र प्रेमी बन्दै जान्छ।
अबका चुनौती भनेकै यस्तै मुल्यमान्यता बोकेका सक्षम् र इमान्दार विवेकशील नागरिकहरुलाई अग्रपंगतीमा स्थापित गर्नु हो।